काठमाण्डौ । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले घर बनाउन भन्दा बालिकाकालाई हुर्काउन गाह्रो भएको बताएका छन् । एपिसी नेपालले राजधानीमा आफूले गरेका गतिविधिहरुको सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै धितालले भने,‘बालबालिका शारीरिक र मानसिक रुपमा समेत कमजोर हुने भएकाले उनीहरुको संरक्षणमा सबैले ध्यान दिनु जरुरी छ ।’

नेपालमा बालबालिकाको हक,हित र अधिकार सुनिश्चितताका लागि गैरसरकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै धितालले कतिपय यस्ता गैरसरकारी संस्थाहरु झोलामै सीमित भएर सञ्चालित भइरहेको बताए । सरकारले व्यवस्था गरेको नीति विपरीत सञ्चालित संस्थाहरुलाई कानुनी कारबाही गर्न पनि सरकार पछि नपर्ने बताउँदै धितालले भने,‘सबैको सहयोग र सहकार्यबाट नै भोलिको भविष्य निर्माण गर्न सक्षम हुनेछौं ।’

समाजकल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले विगत १२ बर्षदेखि सडक बालबालिकाको निम्ति निरन्तर रुपमा कार्य गर्न सक्षम हुनु आफैमा उपलब्धी भएको भन्दै एपिसी नेपालको भावी दिन पनि बालबालिकाको अधिकार सुनिश्चित गर्न लाग्ने विश्वास व्यक्त गर्नुभयो । हाल नेपालमा २६१ वटा गैरसरकारी संस्थाले बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताउँदै बरालले भने,‘सरकारको सहयोगी हातको स्वरुप गैरसरकारी संस्थाले गरेका कार्य अत्यन्तै सकारात्मक रहेको छ ।’

एपिसी नेपालले विगत १२ बर्षदेखि सडक बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पुनस्र्थापनाको काठमाण्डौ, भक्तपुर, ललितपुर तथा नुवकोटमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको संस्थाका अध्यक्ष डा.मुकुन्दराज वाग्लेले बताए ।

एपिसी नेपालका कार्यकारी निर्देशक निलकण्ठ आचार्यले सडक बालबालिकाको निम्ति कार्य गर्ने क्रममा यसबर्ष २ सय २९ जना बालबालिकालाई शिक्षा, स्वास्थ्य लगायतको सहयोग गरेको बताए । एपिसी फ्रान्स र केन्दिय बाल कल्याण समितिको सहयोगमा विभिन्न दातृ निकायबाट १ करोड ५२ लाख बराबरको आर्थिक सहयोगबाट बालबालिकालाई यस्ता सहयोग गरिएको आचार्यले जानकारी दिए ।

सस्थाका सचिब अमृत रत्न मानन्धर ले सबै सरोकार वालाको सहयोगले एपिसी नेपाल यो स्थामा आइपुगेको बताउनु भयो । कार्यक्रमको सन्चालन सस्थाको लेखा प्रमुख अनिमा खड्काले गर्नु भएको थियो ।